काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र राजपुर – ६ मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको उम्मेदवार विजयी


काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेका थिए । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेका थिए ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए ।

महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रौतहट, यहाँको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार  ०८ : ४९ बजे