एघार महिनामा हवाई मार्गबाट साढे १० लाख पर्यटक नेपाल भित्रिए


काठमाडौँ । सन् २०२४ को ११ महिनामा हवाई मार्गबाट १० लाख ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्षको ११ महिनामा नौ लाख १८ हजार ३०८ पर्यटक भित्रिएका थिए ।

बोर्डका अनुसार यो वर्षको नोभेम्बरमा भारतबाट १९ हजार ९१५, अमेरिकाबाट १० हजार ९८१, चीनबाट नौ हजार ४५८, बेलायतबाट छ हजार ५११, बङ्गलादेशबाट पाँच हजार १४८, अस्ट्रेलियाबाट चार हजार ८२९, थाइल्यान्डबाट चार हजार २६२, श्रीलङ्काबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ पर्यटक नेपाल भित्रिएका छन् ।

यसअघि सन् २०२३ भर १० लाख १४ हजार ८७१ र कोरोना महामारीअघि सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डका अनुसार यो वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९, सेप्टेम्बरमा ९६ हजार ३०५, अक्टोबरमा एक लाख २४ हजार ३९३ र नोभेम्बरमा एक लाख १४ हजार ५०१ पर्यटक नेपाल भित्रिएका हुन् ।

 

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार  ०७ : ४४ बजे