डेढ अर्ब लगानीमा खुल्यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’


काठमाडौँ । ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना र सेवासहितको मल्टिभेन्यु द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।

सिजी होल्डिङ्सका परामर्शदाता अर्जुनराज गिरीले अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार र सुविधायुक्त द प्लाजा नेपालकै ठूलो मल्टिभेन्यु भएको बताए ।

कुल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीनवटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिने जनाइएको छ ।

कुल ४३ हजार वर्ग फिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकताअनुसार सचिवालय र भिआइपी कक्षको पनि सुविधा छ ।

कार्यक्रमको उच्चस्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउन्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने जनाइएको छ ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार  ०६ : २० बजे