ब्राजिली आयातमा अमेरिकी कर लागू

ब्राजिली आयातमा अमेरिकी कर लागू

अमेरिकाले ब्राजिलले अनुचित व्यापार अभ्यास गरेको निष्कर्ष निकाल्दै जुलाई २२ देखि ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लागू गर्ने घोषणा गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि यस्तो निर्णय गरिएको जनाएको हो ।

अमेरिकाका अनुसार नयाँ शुल्क विश्वको दशौँ ठूलो अर्थतन्त्र ब्राजिलसँगका व्यापारिक असन्तुलन र अनुचित अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले लागू गरिएको हो । यद्यपि, अमेरिकी उत्पादन र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ । छुट पाउने वस्तुमा कफी, गाईको मासु, सुन्तला, सुन्तलाको रस, केही तेल तथा ग्यासजन्य ऊर्जा उत्पादन, साथै एयरोस्पेस उद्योगमा प्रयोग हुने पार्टपुर्जा समावेश छन् ।

युएसटीआरले ब्राजिलविरुद्ध भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यान्वयन, आफ्नै भन्सार नीति तथा अन्य व्यापारिक अभ्यासलाई अनुचित ठहर गर्दै कारबाही आवश्यक भएको जनाएको छ । यद्यपि, अमेरिकाले लामो समयदेखि ब्राजिलसँग वस्तु व्यापारमा अधिशेष कायम राख्दै आएको तथ्य पनि सार्वजनिक अभिलेखमा उल्लेख छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकी कामदार र व्यवसायले समान प्रतिस्पर्धात्मक वातावरण पाउन यस्तो कदम आवश्यक भएको बताए । उनका अनुसार गत एक वर्षदेखि भएका द्विपक्षीय वार्ताले विवादित विषय समाधान गर्न नसके पनि ब्राजिलसँग आवश्यक सुधारका लागि वार्ता जारी राख्न अमेरिका तयार छ ।

गत जुनमा शुल्क प्रस्ताव सार्वजनिक भएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले त्यसको कडा विरोध गरेका थिए । उनले यस विषयलाई व्यापारभन्दा बढी राजनीतिक प्रेरणासँग जोड्दै आगामी अक्टोबरको निर्वाचन र आफ्ना प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोसँग सम्बन्धित गतिविधितर्फ सङ्केत गरेका थिए । फ्लाभियो, पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ र उनी हालै वासिङ्टन भ्रमणमा गएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति लुला नेतृत्वको सरकारले अमेरिकासँग सद्भावपूर्ण ढङ्गले वार्ता नगरेको आरोप लगाउँदै उनको आर्थिक नीतिले दुवै देशका नागरिकको हितमा काम नगरेको टिप्पणी गरे ।

यो शुल्क सन् १९७४ को अमेरिकी व्यापार ऐनको धारा ३०१ अन्तर्गत लगाइएको हो । यसअघि अमेरिकी सर्वोच्च अदालतले सन् १९७७ को ‘इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट’ (आइइइपीए) अन्तर्गत ट्रम्प प्रशासनले लगाएका केही व्यापक शुल्क आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको ठहर गरेको थियो ।

यसअघि ट्रम्प प्रशासनले सन् २०२२ को ब्राजिलको राष्ट्रपतीय निर्वाचनपछि पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथिको अभियोजनको विरोधस्वरूप ब्राजिलमाथि ५० प्रतिशत कर लगाएको थियो । यद्यपि, गत मे महिनामा ह्वाइट हाउसमा भएको भेटपछि राष्ट्रपति ट्रम्प र राष्ट्रपति लुलाबीचको सम्बन्धमा केही सुधार देखिएको आकलन गरिएको थियो ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहीबार १८ : ०७ बजे