कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ ।
विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआएकाले त्यसबाट भन्सार राजस्व प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपालमा अस्थायी पैठारी अनुमति लिएर आएका भारतीय सवारीसाधनको म्याद थपबापत प्राप्त हुने शुल्क नै कार्यालयको प्रमुख आम्दानी बनेको हो ।
कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार २३१ राजस्व सङ्कलन गरेको छ । उक्त राजस्वको अधिकांश हिस्सा भारतीय सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त भएको कार्यालयले जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयका लेखा प्रमुख डिल्लीराम सुवेदीका अनुसार भारतबाट नेपाल आउने सवारीसाधनले निश्चित अवधिसम्म नेपालमा सञ्चालन गर्न भन्सार कार्यालयबाट अस्थायी पैठारी अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमति अवधिपछि नेपालमा बस्ने समय थप गर्दा तोकिएअनुसार दैनिक महसुल बुझाउनुपर्छ । भारतबाट अस्थायी पैठारीमा आएका कार, जिप, बस तथा भ्यानको म्याद थप गर्दा दैनिक रु ६०० र मोटरसाइकल तथा स्कुटरको दैनिक रु २०० महसुल लाग्ने सुवेदीले बताए ।
