प्रहरीले आज पनि न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न दिएन

0
Shares

नेपाल प्रहरीले काठमाण्डौंको न्यूरोड क्षेत्रका व्यापारीहरुलाई आज पनि पसल खुला गर्न अवरोध गरेको छ। पसल खोल्ने विषयमा प्रहरी र व्यापारीबीच घम्साघम्सीपछि विवाद समेत भएको छ।

राष्ट्रिय व्यापार महासंघसँग आवद्ध व्यवसायीहरुले सरकारले गरेको निरन्तर लकडाउनका कारण जनजीबन चलाउन र सटर भाडा तिर्न समेत नसक्ने अवस्था भएको भन्दै आइतबारदेखि पसल खोल्न थालेपछि मंगलबार पछि बुधबार पनि प्रहरीले हस्तक्षेप गरेको हो।

तीन दिनदेखि खुल्ला हुँदै आएको पसल मंगलबार अवरोध गरेपछि ब्यापारीहरु बुधबार बिहानै पसल खोल्न आएका थिए।

महासंघका अध्यक्ष नरेश कटुवालले आफूहरुलाई परिवार पाल्न, कर्मचारीलाई तलव दिन र सरकारलाई कर समेत तिर्नुपर्ने भएका कारण पसल खोल्नुको विकल्प नरहेको बताए। सरकारले ब्यवसायीको कर, बैंक ब्याज, घरभाडा मिनाहा गरे पसल बन्द गर्न आफूहरु तयार रहेको उनको भनाई छ।

लकडाउन खुला गर्ने निर्णय नगरेमा भोलिबाट सडक आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।

प्रकाशित मिति: २८ जेठ २०७७, बुधबार  १० : ०५ बजे