काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियामा संलग्न सात निर्माण कम्पनी तथा आपूर्तिकर्तामाथि सरकारले कारबाही गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि दुई वर्ष छ महिनासम्मका लागि कालोसूचीमा राखेको हो।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेसँगै ती कम्पनीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कारबाहीमा पर्ने कम्पनीमध्ये बीएमआर कन्स्ट्रक्सनलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको छ। त्यस्तै, हेभन–निसान जेभी, नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रालि, आरयुपिएस कन्स्ट्रक्सन प्रालि र बाल्ट्रा पेट्रोकेमिकल प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी, सीआईपीईएल–शैलुङ जेभी र संखुवासभास्थित जीबी मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रालिले सबैभन्दा लामो अर्थात् दुई वर्ष छ महिनासम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने भएका छन्।
कार्यालयले कालोसूचीमा परेका कम्पनीलाई प्रतिबन्धको अवधि पूरा नहुँदासम्म कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी नगराउन सम्बन्धित सार्वजनिक निकायलाई निर्देशनसमेत दिएको छ।
यस निर्णयसँगै अब उक्त अवधिभर सातै कम्पनी सरकारी तथा सार्वजनिक निकायका निर्माण, आपूर्ति र अन्य खरिदसम्बन्धी ठेक्का प्रक्रियाबाट बाहिर रहनेछन्।
