बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज (शुक्रबार) ४० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६१ दिन अवधिको ‘२ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यस उपकरणको बोलकबोल आज दिउँसो २ बजेसम्म हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप संकलन उपकरण आजै निष्काशन हुने बैंकले जनाएको छ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८१ माघ १३ गते गरिनेछ।

यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। लगानीकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (४० अर्ब रुपैयाँ) सम्म आवेदन दिन सक्नेछन्।

संकलित निक्षेप रकमको भुक्तानी मिति (माघ १३) अगावै फिर्ता भुक्तानी हुने छैन। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। सहभागी संस्थाहरूले बहु–ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो-राटा’ का आधारमा बाँडफाँड गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार ११ : १८ बजे