भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टिनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा बसिसकेका हुन् ।
सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। हाल क्वारेन्टिनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए। उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षण पश्चात घर पठाइने जनाइएको छ। क्वारेन्टिनको १४ दिन बसाइ पछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन्।
यसैबीच जिल्लामा हालसम्म ६ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ । सोमा ६ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा आरडीटी गरिएका मध्ये पाँच हजार ८५५ जनाको नेगेटिभ र ५२९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ। जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा ६ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन्। बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टिनमा राख्न शुरु गरिएको थियो।
भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा चुनौती देखिएको छ। १४ दिनको क्वारेन्टिन बसाइपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ।
पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ। नमूना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए।
प्रतिक्रिया