मनकामना स्मार्ट लघुवित्तको आईपिओमा पहिलो दिन झण्डै ६ लाख आवेदन


बिहीबारदेखि साधारण शेयर निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको साधारण शेयरमा पहिलो दिनमा झण्डै ६ लाख वटा आवेदन परेको छ ।

बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८१२ वटा आवेदनबाट लघुवित्तको ७९ लाख ७२ हजार ८२० कित्ता शेयर माग भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।