भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउने सडक दुई महिना बन्द रहने


मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ आउने सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार दुई महिनाका लागि उक्त सडकखण्ड बन्द गरिएको हो । हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारी साधन सञ्चालन गराइएको छ ।

काठमाण्डौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन सुमो, जीप, कार, मोटरसाइकल र मिनी बसलाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरु र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्त रुपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरुपमा हल्का सवारीसाधन सञ्चालन गराइएकोे सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।

नारायणी यातायात व्यवसायी सङ्घका महासचिव सरोजकुमार खनालले बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हलुका सवारीसाधन दैनिक सञ्चालनमा रहेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।