स्वदेशी उत्पादनको प्रवद्र्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने : मन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशी उत्पादनको प्रवद्र्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने बताएकी छन् । उनले स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने उल्लेख गरेकी हुन् ।

ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लागतमा निर्माण उक्त कभर्ड हालको उद्घाटन गर्दै उनले आयात प्रतिस्थापन गर्नका लागि पनि आन्तरिक उत्पादन बढाउन पर्ने बताएकी हुन् । स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारत्मक प्रभाव पर्ने उनको विश्वास छ । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन समेत आग्रह गरिन् ।

“तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु”, उनले भनिने, “आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैले प्राथमिकता दिनेछु ।”

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्र्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए । उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।