विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढ्यो, एक बर्षमा ५ हजार पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले आजदेखि लागू हुने गरी विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढाएको छ । अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले गत आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाउने घोषणा गरेको थियो । जुन व्यवस्था कार्यन्वयनका लागि शुक्रबार निर्देशन जारी गरको हो ।

भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने जनाएको छ ।

एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाने र यो परिपत्र जारी भएको मिति २०८० साल साउन १२ देखि गणना हुने राष्ट्र बैंकको भनाई छ । यो परिपत्र जारी भएको मिति अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रति पटक अधिकतम अमेरिकी डलर २ हजार ५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने पनि राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

यसअघि भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधा वापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो । उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पु¥याइएको हो । विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।