स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा एक वर्षमा १ अर्ब २७ करोडले बढ्यो


स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा एक वर्षमा १ अर्ब २७ करोड रुपैयाँले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । उक्त अवधिमा बैंकको आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकको  २८ रुपैयाँ ९९ पैसा लाभांश नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 

चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको चार्टर्ड बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेर ११ खर्ब ७५ करोड ८७ लाख ५ हजार रुपैयाँ पुगेको छ । यस्तै  कर्जा लगानी १.६९ प्रतिशत घटेर ७७ अर्ब ८५ करोड ७५ लाख ६० हजार रुपैयाँ कायम छ ।

अघिल्लो आर्थिक वर्षमा ४.२३ प्रतिशत रहेको स्प्रेडदर गत आवमा ४ प्रतिशतमा कायम भएको छ । यस्तै बैंकको आधारदर ९.०२ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.५९ प्रतिशत रहेकोमा गत आवमा १.१७ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।