रिलायबल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । इन्स्योरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा ९६ लाख कित्ता कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त आइपीओमा १० लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबार साँझसम्म १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको १ करोड ८ लाख कित्तामध्ये ५–५ प्रतिशत अर्थात ६.६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोष छुट्याइएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गरेको हो । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुन्छ । अधिकतममा ५ हजार ४ सय कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था भएपनि गोलाप्रथाबाट १० कित्ता हात पार्नुपर्ने अवस्थाका कारण १० कित्ताले हुने २ हजार ५७० रुपैयाँको आवेदन दिनु उपयुक्त हुनेछ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड विकास गरेको मेरो सेयर मोबाइल एप तथा ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ । यद्यपी कम्पनीले आईपीओ निष्कासनबाट एक अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०८०, शुक्रबार  ०६ : २७ बजे