माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियोे ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ अंकित दरमा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर आम सर्वसाधारणमा जारी गरेको छ । लगानीकर्ताले सीडीएससीको मेरो सेयर वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था भएपनि एक हजारको आवेदन मात्र दिनु उपयुत्त हुन्छ । १३ लाख हाराहारीमा आवेदन पर्ने गरेकोमा १ लाख २० हजार ५३२ जना लगानीकर्ताले मात्र सेयर पाउने हुँदा धेरै आवेदन गर्न आवश्यक देखिन्न ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।