सन् नेपाल लाइफको आईपीओ बाँडफाँड शुक्रबार


सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले शुक्रबार आइपीओ बाँडफाँडको तयारी गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार आवेदकले पाउनेछन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले निर्देशिका अनुसार आईपीओ बाँडफाँड गर्दा न्यूनतम १० कित्ताका दरले वितरण गर्नुपर्ने हुन्छ । जसअनुसार सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग हुने हुँदा गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ता छनोट हुनेछ ।

कम्पनीको आईपीओमा १५ लाख भन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्याङक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आइपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ९६ लाख कित्ता निष्कासन गरेको थियो । जसमध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ । सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा सेयर बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।