सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुट्यो कि !


सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा जारी गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
यस्तै ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरि बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् । इन्सुरेन्सको आइपीओमा ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार साँझसम्म ११ लाख ७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले इन्स्योरेन्सको वित्तिय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।