सिनर्जी पावर डेभलपमेन्टको हकप्रदमा आवेदन दिने समय थप


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भदौ ३ गतेबाट निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनकिो हकप्रदमा अब भदो ३१ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद निष्काशनका लागि असार २० गते अनुमति दिएको थियो । सो अनुसार कम्पनीले चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

कम्पनीले २ कित्ता बराबर १ कित्ता अनुपात अर्थात् ५० प्रतिशतमा हकप्रद निष्काशन गर्न सेबोन समक्ष २०७९ फागुन ५ गते अनुमति मागेको थियो । सेबोनले हकप्रद स्वीकृती दिएसँगै कम्पनीले १०० रुपैयाँ अंकित ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गरेको हो । कम्पनीले हकप्रद निष्काशनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो ।

यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ । जलविद्युत आयोजना प्रवद्र्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।