चार जलविद्युत कम्पनीले ४ अर्ब ३३ करोडको हकप्रद बिक्री गर्ने

0
Shares

विभिन्न चार जलविद्युत कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद बिक्रीमा ल्याउने भएका छन् ।

ती कम्पनीहरुले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ४ करोड ३३ लाख ७० हजार ९४२ दशमलव २३ कित्ता हकप्रद बिक्री गर्न हालै मात्र पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोडसँग अनुमति माग गरेका हुन् ।

बोर्डका अनुसार लिवर्टी इनर्जी कम्पनी लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद बेच्न अनुमति मागेका हुन् ।

लिवर्टी इनर्जीले १ बराबर ०.५ कित्ता अनुपातमा ७५ करोड मूल्यको ७५ लाख कित्ता हकप्रद सेयर बिक्री अनुमति मागेको हो । हकप्रद बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको कम्पनीले भदौ २१ गते बिहीबार बोर्डसँग अनुमति माग्दै निवेदन दिएको हो ।

यसैगरी न्यादी ग्रुप पावर लिमिटेडले चुक्ता पुँजीको शतप्रतिशत (१ बराबर १ कित्ता अनुपातमा) १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद सेयर बिक्री अनुमति मागेको हो । हकप्रद बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको कम्पनीले भदौ २१ गते बिहीबार बोर्डसँग अनुमति माग्दै निवेदन दिएको हो ।

आँखुखोला जलविद्युत कम्पनीले पनि हकप्रद बिक्री माग गर्दै भदौ २१ गते बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत (१० बराबर १५ कित्ता अनुपातमा) १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री अनुमति मागेको हो । हकप्रद बिक्री गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

साथै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्रीको अनुमति मागेको छ । कम्पनीले भदौ २२ गते शुक्रबार हकप्रद बिक्री माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई हकप्रद बिक्री गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।