मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड बुधबार

0
Shares

मिड सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) आगामी बुधबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार असोज १० गते बुधबार साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा आईपीओ बाँडफाँड गर्न लागिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा भाग्यमानी ६२ हजार ११७ अवेदकले मात्र आईपीओ प्राप्त गर्नेछन् । तीमध्ये ६२ हजार ११५ जनाले १० कित्ताका दरले ६ लाख २१ हजार १५० कित्ता र २ जनाले थप १–१ कित्ता गरी ११ कित्ताका दरले २२ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई ६ लाख २१ हजार १७२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणको सेयर निष्काशन अघि नै हाइड्रोपावरका १४ हजार ९६८ कित्ता कर्मचारीलाई र सामुहिक लगानी कोषका लागि ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरेको छ ।

साथै कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयका लागि ७ लाख ४८ हजार ४०० कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरुकोे लागि ७४ हजार ८४० कित्ता निष्कासन गरि बाँडफाँड समेत गरिसकेको छ ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकबाट कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताको माग परेको छ । यो सर्वसाधारणबाट माग भएको सेयर संख्याको २४.३४ गुणा बढी हो ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ८ करोड ४१ लाखको हिसाबले प्रतिमेगावाट लागत २१ करोड ९३ लाख ८५ हजार रुपैयाँ छ ।सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमती ३२ वर्ष ६ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ ।  कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–११ बानेश्वरमा रहेको छ ।

कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको हो । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।