अप्पर तामाकोशीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले भदौ १८ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्काशन गरेको थियो । अर्थात् कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

अप्पर तामाकोशी नोक्सानमा

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । वित्तीय खर्चमा भएको उच्च वृद्धिले कम्पनीको नोक्सानी गत आवको तुलनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको हो ।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको नोक्सानी बढेसँगै प्रति सेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक बनेको छ । अघिल्लो आवमा रुपैयाँ रहेको थियो । असारसम्म कम्पनीको रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसले कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा ६५ रुपैयाँ धेरै घटेर ३४ रुपैयाँ ६७ पैसामा सीमित बनेको छ । हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।