माछापुच्छे बैंकको १ करोड १२ लाख कित्ता सेयर बिक्रीमा


माछापुच्छे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम प्रतिकित्ता मूल्य ११३ रुपैयाँ तोकिएको छ । संस्थापक सेयरमा बिद्यमान संस्थापक सेयरधनी वा जो कोहि व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् ।

सेयर खरिदको लागि आज माघ ५ गतेदेखि १५ गतेसम्म माछापुच्छ्रे क्यापिटल लिमिटेड, जे.डि.ए. कम्पेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा पुग्ने गरी आवेदन दिन सकिने छ ।  शेयर खरिदको लागि न्यूनतम प्रतिकित्ता मूल्य ११३ रुपैयाँ तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम उल्लेखित सम्पूर्ण संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकको एउटा व्यक्ति, एकाघरका सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाईने छैन ।

सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी
बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षित भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।