केन्द्रमा सत्तासमीकरण फेरिएपछि माओवादी केन्द्रद्धारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रमा सत्तासमीकरण फेरिएपछि माओवादी केन्द्रद्धारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रमा सत्तासमीकरण फेरिएपछि प्रदेश सरकारमा एकपछि अर्को असर देखिन थालेको छ ।  नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारपछि गण्डकी सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हाे ।

बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए । माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिइन् ।

मुख्यमन्त्री पाण्डेले मंगलबार मात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा माओवादीका ११ सांसदको समर्थन थियो । बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिनेनिर्णय गरेको हो । शाह नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षसम्ममा पनि सुशासन, विकास र जनतामा आशा जगाउन पूर्णतः असफल भएको माओवादीको ठहर छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले मंगलबार पदमुक्त गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २३ फागुन २०८०, बुधबार १२ : ३१ बजे