चालु आर्थिक वर्ष २०८०–८१ को फागुन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । फागुन महिनामा ५१ हजार घरजग्गा किनबेच हुँदा करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनमा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ३८ करोड १२ लाख २२ हजार रुपैयाँ, पुँजीगत लाभकरवापत १ अर्ब २८ करोड ५० लाख ५८ हजार रुपैयाँ, देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत सेवा करवापत २५ करोड ६५ लाख ३८ हजार रुपैयाँ, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क ३ करोड ६० लाख, साढे पाँच लाख बिलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ ।
अघिल्लो महीना माघमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो । माघको तुलनामा फागथुनमा २१ करोड ६९ लाख रुपैयाँले राजश्व संकलन बढेको हो ।
विभागका अनुसार माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबारमा झिनो अंकले वृद्धि भएको देखिएको हो । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५.२० प्रतिशतले घरजग्गा किनबेच बढेको छ । फागुनमा ५० हजार ९९८ ओटा घरजग्गा किनबेच भएको छ । २०७९ फागुनमा ४० हजार ७३४ संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो । गत माघ महिनामा ५० हजार ९२१ संख्यामा घरजग्गा किनबेच भएकोमा फागुनमा ७७ ओटाले बढेको हो । २०७९ फागुनमा घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब ५६ करोड रूपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ ।
यस्तै माघ महिनामा ५ हजार ४८० ओटा नामसारी भएकोमा फागुन महिनामा ५ हजार ६९९ ओटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । माघ महिनामा २५ ओटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा २९ ओटा पुगेको छ ।

लगनखेल मालपोत मालपोतबाट सर्वाधिक राजस्व संकलन
२०८० फागुन महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा लगनखेल मालपोत कार्यालय छ । ३५ करोड ५९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कुल ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजश्वमा लगनखेल मालपोत कार्यालयले संकलन गरेको राजश्व ९ प्रतिशतभन्दा धेरै हो । उक्त कार्यालयले मात्रै ९३१ ओटा लिखत पारित गरेको छ ।
यसैगरी चाबहिल मालपोत कार्यालयले फागुनमा २३ करोड ३० लाख रुपैयाँ सङ्कलन गरेको छ भने भक्तपुरबाट भक्तपुरबाट २३ करोड १७ लाख रुपैयाँ, कलङ्की मालपोतले २२ करोड १२ लाख र पाँचौं स्थानमा रहेको डिल्लीबजार कार्यालयले १९ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । भक्तपुर मालपोतबाट फागुनमा ९७१, चाबहिलबाट ४५१, कलङ्कीबाट ७०७ र डिल्लिबजारबाट २०२ ओटा लिखत पारित भएको छ ।
यसैगरी चितवन मालपोतले १४ करोड ८१ लाख रुपैयाँ, कास्कीले ११ करोड ४९ लाख रुपैयाँ र सुनसरीको इनरुवा मालपोत कार्यालयले १० करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेका हुन् । चितवन मालपोतले फागुनमा ९१७, कास्कीले ७०५ र इनरुवाले २००६ ओटा लिखत पारित गरेको छ ।
लिखत पारितका हिसाबले फागुनमा जनकपुरबाट १९९७, भद्रपुरबाट १८५०, बेलबारीबाट १६४३, राजविराजबाट १३६५, जलेश्वरबाट १२८४ र मलंगवाबाट १११४ लिखत पारित भएको छ। यस्तै, सिरहाबाट १०८६, तौलिहवाबाट १०३५ र विराटनगरबाट १००७ ओटा लिखत पारित भएको तथ्यांक छ । फागुन महिनामा ५६ हजार ७१५ वटा जग्गाको वर्गीकरण भई १ लाख २९ हजार ५३ वटा कित्ता कायम भएको छ ।
फागुनमा गोरखाको सिर्दिवास मालपोतले सबैभन्दा कम राजश्व संकलन गरेको एक लाख सात हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । उक्त कार्यालयबाट फागुनमा १२ ओटा मात्र लिखत पारित भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
