१९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि सूर्य सुवेदीले पठाएको मस्यौदा सुरक्षित छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तरर्राष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डाक्टर सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदीः महा विद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

आफू पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भए पछि भारतको भ्रमणमा जानु अघि दुई देश बीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा।सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझैं सुरक्षित रहेको पनि बताए । ‘मेरो भ्रमण पछि सन्धि पुनरवलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडी बढ्न सकेको छैन्’ उनले भने ।

विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सुवेदी पनि छन् । प्रा. सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरवलोकनबारे आफूले सहयोग मागेको प्रधानमन्त्री दाहालले बताए ।
उनले त्यसमा निकै राम्रो सहयोग गरेको र पछिल्लो एमसीसी सम्झौतामा पनि उनले मध्यमार्गी विकल्प दिएको र हामीले लागू पनि गरेकाले सुवेदीको विज्ञतालाई हामी निरन्तर कदर गर्ने प्राधनमन्त्रीले बताए ।

प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा. डा. सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको बताइन् । विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने बताइन् ।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाई रहेको बताए । ‘हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो’ उनले भने । शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध ग¥यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन । हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडि बढ्नुपर्छ । उनले सुवेदीले आफूसँग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तरर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफुले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफु सधैं तत्पर रहेको बताए । पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेलले लेखेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

कार्यक्रमको सञ्चालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ चैत २०८०, आइतबार १२ : ४३ बजे