भृकुटीमण्डपमा जारी पुष्प मेलामा एक करोडको कारोबार हुने अनुमान

भृकुटीमण्डपमा जारी पुष्प मेलामा एक करोडको कारोबार हुने अनुमान

काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलामा एक करोड रुपैयाँ बराबरको फूलहरुको कारोबार हुने अनुमान गरिएको छ । मेलामा शनिबारसम्म करिब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आइतबार साँझसम्म जारी रहने मेलामा शनिबारसम्म ४० हजारले अवलोकन गरेकोमा आज साँझसम्म ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जंग बहादुर तामाङका अनुसार गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्स्पोमा ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एक्स्पो सकिँदासम्म चार दिनमा एक करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको उनले बताए ।

फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सो मेला आयोजना गरिएको हो । मेला अवलोकनका लागि सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीलाई १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहेका छन् ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ चैत २०८०, आइतबार १३ : ४२ बजे