काठमाडौं जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सुन तस्करी प्रकरणमा सोमबार रुपन्देहीबाट पक्राउ परेका पक्राउ परेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज म्याद थपका लागि अदाल उपस्थित गराएको थियो । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार महरासहित सुन तस्करी प्रकरणमा मुछिएका सबैमाथि तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।
गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।

पूर्वसभामुख महराका छोरा राहुललाई यसअघि नै भदौ १३ गते पक्राउ परिसकेका छन् । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । उनीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
उता सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले फागुन १४ मा पक्राउ परेका गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
