सुनसान बन्दै ढोरपाटन


काठमाडौँ । चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगमन कम भएपछि होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाइ हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताए ।

अध्यक्ष भण्डारीले भने, ‘यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ । चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मंसिसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०-४० जना मात्रै आउने गरेका छन् । प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको संख्या बढ्दै गएको छ ।’

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर, अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेँसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उनको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउँछन् । पश्चिम बागलुङको ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर, उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति: २० पुस २०८१, शनिबार  १७ : ४६ बजे