काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् ।
साेमबार १३औँ संस्करणको ग्लोबल मनी विकको औपचारिक शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । नेपालमा ग्लोबल मनी विकको राष्ट्रिय संयोजकका रूपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो ।
शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ । जसको क्षमता जे छ, सोहीअनुसार व्यवहार गर्नुपर्छ । क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन । २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने ?’
कार्यक्रममा गभर्नर अधिकारीले सबै नागरिकको बैंकमा खाता र ती खाता सक्रिय रूपमा चलून् भन्नका लागि वित्तीय शिक्षा आवश्यक रहेको बताए । उनले स्कुलको पाठ्यक्रममा नै वित्तीय शिक्षालाई समावेश गर्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग छलफल गरिरहेको बताए ।
बैंकभित्र बचतका पनि विभिन्न प्रोडक्ट हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि बुझ्न आवश्यक रहेको बताए । पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै त्यसमा आफू धेरै सन्तुष्ट रहेको उनले बताए । डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको सुनाउँदै सबैले सर्तक भएर कारोबार गरेमा सुरक्षित बन्न सकिने बताए ।
उनले सबैको पहुँचमा बैंक खाता पु¥याउने लक्ष्य रहेको बताउँदै बैंकमार्फत् बचत गरेर भविश्य सुनिश्चित गर्न सुझाव दिए ।
वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन भूमिका खेल्ने उनको भनाइ छ । वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ ।
बैंक तथा वित्तीय संस्थाहरूले ‘लर्न, सेभ एन्ड अर्न’को नाराका साथ ग्लोबल मनी विक मनाइरहेका छन् । १३औँ संस्करणको ग्लोबल मनी विक नेपालमा राष्ट्र बैंकको नेतृत्वमा आयोजना हुँदै आएको छ । १ साताभर मनी विक आयोजना गर्ने अभ्यास छ ।
यस्तै, राष्ट्र बैंक वित्तीय समावेशीकरण तथा ग्राहक संरक्षण महाशाखा प्रमुख हेमप्रसाद न्यौपानेले सानै उमरदेखि फजुल खर्च, आवश्यकता र चाहनाबीचको भिन्नता छुट्याउन सक्ने बनाउन वित्तीय शिक्षाको उद्देश्य रहेको बताए । प्रभावकारी रूपमा वित्तीय शिक्षा युवा तथा विद्यार्थीमाझ लैजानु पनि ग्लोबल मनी विकको उद्देश्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया