काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पद मुक्त गरिएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निबेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
यससँगै सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै घिसिङ बुधबार नै सर्वोच्चमा पुगेका थिए ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएका छन् ।
सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।
लामो समयदेखि विद्युत प्राधिकरण र ऊर्जामन्त्री दिपक खड्काबीच विवाद चल्दै आएको थियो । अन्तिममा मन्त्रिपरिषद्ले गत सोमबार घिसिङलाई बर्खास्त गरेको थियो । साथै बर्खास्तीको पत्र मंगलबार अबेरमात्रै घिसिङलाई दिइएको थियो ।
प्रतिक्रिया