काठमाडौँ । आज बिदा हुँदै गरेको वर्ष २०८१ मा नेपालमा धेरै विषय नकारात्मक रहे । राजनीति, समग्र अर्थतन्त्रसँगै प्रकृतिले पनि औधि निराशा दिएको वर्षका रूपमा रह्यो– ८१ साल ।
यसैबीच, यो वर्ष नेपालमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गर्यो । त्यो पनि एक पटक होइन, पटक–पटक । यो १ वर्षको अवधिमा सुनको मूल्य तोलामै ४९ हजार २०० रुपैयाँले बढ्यो ।
२०८१ साल वैशाख २ गते १ लाख ३८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भयो ।
यो वर्ष सुनको भाउ अत्यधिक बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । २०८० सालमा सुनको मूल्य २९ हजार रुपैयाँले मात्र बढेको थियो ।
विगतका वर्षहरूमा पनि सुनको मूल्य ५ हजारदेखि १० हजार रुपैयाँसम्म मात्र बढेको पाइएको थियो ।
यो वर्ष युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतारचढावलगायत कारणले विश्व अर्थतन्त्र प्रत्यक्ष प्रभावित भएको जानकारहरू बताउँछन् ।
यस्तै, युक्रेन–रुस युद्ध, मध्यपूर्वको अस्थिरता र अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरोदयले सुन बजारलाई प्रत्यक्ष असर गर्यो । ब्रिक्स राष्ट्रहरूको १६औँ सम्मेलनमा अमेरिकी डलरको प्रभुत्व घटाउनेबारे छलफल भएपछि सुनमा लगानी बढ्यो र भाउ आकासियो ।
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलर झनै बलियो बन्ने आशाका साथ डलरमा लगानी बढ्दा सुनको भाउ घटेको थियो । तर, विविध कारणले भाउ पुनः बढेको हो ।
ट्रम्प निर्वाचित भएसँगै प्रतितोला १ लाख ७१ हजार रुपैयाँको ऐतिहासिक रेकर्डसम्म पुगेको सुनको मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँसम्म झरेको थियो ।
ट्रम्प निर्वाचित हुनेबित्तिकै सुनको मूल्य घट्नुमा उनले लिएको ‘अमेरिका पहिलो’ नीतिको मनोविज्ञान प्रमुख कारण थियो । तर, त्यसले निरन्तरता नपाउने भएपछि सुनको भाउ बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा ३० अक्टोबरमा प्रतिऔंस २७८८ अमेरिकी डलर पुगेको सुनको मूल्य पछि २६५८ अमेरिकी डलरमा झरेको थियो ।
कुन महिनामा कति मूल्य ?
वर्षको पहिलो महिना वैशाख ९ गते १ लाख ३९ हजार ३०० रुपैयाँमा सुन कारोबार भएको थियो । जुन वैशाख महिनाको उच्च रेकर्ड हो ।
यस्तै, जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउले असार ३१ गते १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेर अर्को रेकर्ड बनाएको थियो ।
यस्तै, साउन २९ गते ११ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जुन साउन र भदौको उच्च मूल्य हो ।
यस्तै, असोज ३० गते १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको सुन कात्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै मंसिरमा सुनको मूल्य घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको थियो भने पुस र माघमा सामान्य घटबढमा नै कारोबार भएको थियो ।
यस्तै, फागुन १३ गते १ लाख ७१ हजार ३०० रुपैयाँमा सबैभन्दा धेरै मूल्यमा कारोबार भएको सुन आज चैत ३१ गते यो वर्षकै उच्च १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया