कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दा खराब कर्जामा पर्ने जोखिम कस्तो ?

कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दा खराब कर्जामा पर्ने जोखिम कस्तो ?

काठमाडौँ । पछिल्लो समय कालोसूचीमा पर्ने ऋणीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजारभन्दा बढीले बढेको छ ।

कालोसूचीमा पर्नेहरूको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, असुली र खराब कर्जामा समेत दबाब पर्ने जोखिम बढेको छ ।

केन्द्रीय बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म कालोसूचीमा सूचीकृत ऋणीको संख्या १ लाख २९ हजार ९७४ थियो । एक वर्षपछि अर्थात् २०८३ असार मसान्तसम्म आइपुग्दा यस्तो संख्या बढेर १ लाख ७० हजार ७९३ पुगेको छ । यसअनुसार एक वर्षमा कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजार ८१९ ले बढेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार कालोसूचीमा पर्नेहरूको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ । विशेषगरी पछिल्लो आर्थिक वर्षमा थपिनेहरूको संख्या उल्लेख्य देखिएको उनको भनाइ छ । कालोसुचीमा पर्ने क्रम बढ्दा खराब कर्जा पनि स्वभाविक रुपमा बढ्ने उनी बताउँछन् ।

तर, कालोसूचीमा पर्नेहरूको संख्या बढेको विषयलाई एउटै कारणसँग जोडेर हेर्नुभन्दा त्यसको प्रकृति र कारणसमेत विश्लेषण गरेर मात्रै खराब कर्जामा परेको जोखिम निर्धारण गर्न सकिन्छ । चेक अनादरका कारण कालोसूचीमा पर्ने, कर्जा नतिरेर कालोसूचीमा पर्ने, ऋणको जमानत बसेका व्यक्ति तथा धितो मूल्यांकनमा संलग्न व्यक्तिहरू पनि कालोसूचीमा पर्ने भएकाले सबैलाई एउटै श्रेणीमा राखेर विश्लेषण गर्न नमिल्ने उनले बताए । ऋण नतिरेर कालोसुचीमा पर्नेको संख्या बढ्दा मात्र खराब कर्जामा दबाब पर्ने उनी बताउँछन् ।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तताले पनि कालोसूचीमा पर्नेहरूको संख्या बढ्न सहयोग गरेको पौडेलको बुझाई छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग अपेक्षाकृत रूपमा बढ्न नसक्नु र आर्थिक गतिविधि सुस्त रहनुले व्यवसायी तथा ऋणीको आम्दानी र नगद प्रवाहमा असर पारेको हुन सक्ने उनको भनाइ छ । यस्तो अवस्थामा ऋणीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढ्न सक्ने उनले बताए ।

नेपालमा कालोसूचीसम्बन्धी व्यवस्था अन्य देशको तुसलनामा कडा रहेको पौडेल बताउँछन् । यसले पनि कालोसूचीमा पर्नेहरूको संख्या बढी देखिन सक्ने उनको भनाइ छ ।
यही विषयलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले कालोसूचीसम्बन्धी व्यवस्थामा आवश्यक परिमार्जन गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिदेखि नै यस विषयलाई समेट्दै आएको उनको भनाई छ ।

कालोसूचीमा पर्नेहरूको संख्या बढ्नुको प्रभाव बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र आर्थिक गतिविधिमा समेत पर्ने उनले बताए । ठूलो संख्यामा आर्थिक गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायी कालोसूचीमा पर्दा उनीहरूको आर्थिक कारोबार खुम्चिने अवस्था आउँछ । त्यसैगरी, कालोसूचीमा परेका व्यक्ति थप बैंकिङ सुविधाबाट वञ्चित हुने भएकाले सम्भावित ऋणीको संख्या घट्न सक्छ । यसले बैंकहरूको कर्जा विस्तारमा समेत संकुचन ल्याउन सक्ने पौडेलको भनाइ छ ।

यद्यपि, कालोसूचीमा पर्नेहरूको संख्या बढ्दैमा बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) पनि सोही अनुपातमा बढ्छ भन्ने हुँदैन । कालोसूचीमा पर्नुको कारण, कर्जाको अवस्था र ऋणीको भुक्तानी क्षमताका आधारमा त्यसको प्रभाव फरक पर्छ ।

बैंकहरूका अनुसार पछिल्लो समय कालोसूचीमा पर्नेहरूको संख्या बढ्नुमा चेक अनादरका घटना पनि प्रमुख कारणका रूपमा देखिएका छन् । विशेषगरी ठेक्का–पट्टा तथा व्यवसायमा संलग्न व्यक्तिहरूले खातामा पर्याप्त रकम नभए पनि भुक्तानीका लागि चेक दिने र पछि चेक नसाटिने समस्या बढेको उनीहरूको भनाइ छ ।

चेक अनादर र कर्जा भुक्तानीमा समस्या आउनु फरक विषय भएको समेत उनीहरूको भनाई छ । कर्जा नतिरेको अवस्थामा ऋणीको कर्जा वर्गीकरण र निष्क्रिय कर्जासम्बन्धी व्यवस्था लागू हुन्छ । तर, चेक अनादरका कारण कालोसूचीमा परेको व्यक्तिले बैंकबाट लिएको ऋण नियमित रूपमा तिरिरहेको पनि हुन सक्छ । यस्तो अवस्थामा कालोसूचीमा परेको आधारमै उक्त कर्जा स्वतः खराब कर्जा हुन्छ भन्न नमिल्ने एकजना बैंकरले बताए ।

तर, चेक अनादरका कारण कालोसूचीमा परेको व्यक्तिले थप कर्जा तथा बैंकिङ सुविधा पाउन कठिन हुन्छ । यसले उसको व्यवसाय र नगद प्रवाहमा असर पार्न सक्छ । परिणामस्वरूप उसले पहिले लिएको कर्जा भुक्तानी गर्नसमेत समस्या हुन सक्ने ती बैंकरको भनाइ छ । त्यसैले चेक अनादरका कारण कालोसूचीमा पर्नेहरूको संख्या बढ्दा तत्काल निष्क्रिय कर्जामा प्रत्यक्ष प्रभाव नदेखिए पनि भविष्यमा खराब कर्जा जोखिम बढ्न सक्छ ।

उनका अनुसार पछिल्लो समय समग्र अर्थतन्त्रमा देखिएको सुस्तता, व्यवसायमा आएको मन्दी र ऋणीको आम्दानीमा परेको दबाबका कारण बैंकहरूको निष्क्रिय कर्जा पनि बढिरहेको छ । कालोसूचीमा पर्नेहरूको संख्या बढ्नु त्यसैको एउटा संकेत हुन सक्ने भए पनि खराब कर्जा बढ्नुको सम्पूर्ण कारण भने यही होइन ।

समग्रमा, कालोसूचीमा पर्नेहरूको संख्या बढ्नु बैंकिङ क्षेत्रका लागि चिन्ताको विषय बनेको सरोकारवालाहरूको भनाई छ । यसले ऋणीको वित्तीय अवस्था, बैंकहरूको कर्जा असुली र आगामी कर्जा विस्तारमा चुनौती थप्न सक्ने उनीहरू बताउँछन् ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार १० : ३२ बजे