आधा भरेको ग्यास सिलिन्डर बजारमा, प्रतिसिलिन्डर ६७७ रुपैयाँ निर्धारण

0
Shares

कोरोना भाइरसको कारण देश लकडाउनमा गएपछि सरकारले ग्याँस उद्योगहरु मार्फत आधा भरिएको सिलिन्डर बजारमा पठाउन थालेको छ। यससँगै अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् ।

लकडाउनको त्रासले उपभोक्ताले घरमा स्टक राख्दा मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो ।

नेपाल आयल निगमले आज ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यका लगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु ६७० तोकिएको छ । यसअघि बजारमा १४.२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो। नाकाबन्दीको समयमा पनि ग्यासको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो ।

सरकारको निर्णयसँगै ग्यास उद्योगीले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।

“सबै जनताको घरमा चुल्हो बलोस् भनेर नै आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेका हौँ”, उनले भने, “बजारमा पठाइएका आधा सिलिन्डर ग्यास स्थानीय प्रशासनको रोहबरमा बिक्री वितरण हुन्छन् ।”

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १६ : ०८ बजे