नेपालमा १ लाख २४ हजार बढीमा कोरोना परीक्षण, एकैदिन ७२ सय बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल १ लाख २४ हजार ६०४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट ४२ हजार ४८८ र आरडिटी प्रविधिबाट ८२ हजार ११६ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ७ हजार ३४० जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट ३ हजार ८१९ र आरडिटीबाट ३ हजार ४२१ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार ९२०, प्रदेश नं २ मा ६ हजार २९५, वाग्मती प्रदेशमा १९ हजार ९३, गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नं ५ मा ११ हजार ४८१, कर्णाली प्रदेशमा ८ हजार ६०१ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७०८ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • २७ हजार ८२९ जना क्वारेटाइनमा, आइसोलेशनमा ४३३ जना

मुलुकभर हालसम्म २७ हजार ८२९ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ४१४ जना, प्रदेश नम्बर दुईमा ५ हजार ९०६ जना, वाग्मती प्रदेशमा ४७८ जना, गण्डकी प्रदेशमा ६७८ जना, प्रदेश नम्बर पाँचमा १५ हजार ९८९ जना, कर्णालीमा ७३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६२९ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ४३३ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ५८, प्रदेश नं २ मा १४५, वाग्मती प्रदेशमा १८ (१ मृत्यु सहित), गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा २०३ जना (१ मृत्यु सहित), र कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरि कूल ४३३ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ७४२ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४७ हजार २६१ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्।

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रबार  १७ : ०४ बजे