कोरोना पराजित गरि थप २५ घर फिर्ता, कूल ११२ जना ‘डिस्चार्ज’

0
Shares

कोभिड संक्रमणसँग लडिरहेका थप २५ जनाले आज कोभिड–१९ जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या ११२ जना पुगेको जानकारी दिए ।

नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए। ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ, बर्दिया र काठमाडौँका एक÷एक जना डिस्चार्ज भएका छन् ।

शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवाबाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उनले बताए।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनको सङ्ख्या नेपालमा ४ पुगेको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक÷एक जनाको निधन भएको थियो ।

  • सङ्क्रमितको सङ्ख्या ६८२ जना

कोभिड–१९ बाट आजसम्म सङ्क्रमितको सङ्ख्या ६८२ जना पुगेको छ । सङ्क्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् ।

सङ्क्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जनाा, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमबार  १९ : ४० बजे