कर्जा भुक्तानी नगर्ने ११ हजार ७६० ऋणी कालोसूचीमा, ६ खर्ब ६० अर्बको निक्षेप सुरक्षण

0
Shares

चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म नेपालका ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा सार्वजनिक गरेका आर्थिक सर्वेक्षण अनुसार २०७६ फागुन समान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ११ हजार ७६० ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएका हुन्।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्म २५ अर्ब ७३ करोड कर्जा सुरक्षण गरेकोमा पुस मसान्तसम्ममा ४८ अर्ब ५३ करोड कर्जा सुरक्षण गरिएको छ। यस्तै ७६ वटा बैंक तथा वित्तीय संस्थामा रहेका २ करोड ५३ लाख १३ हजार ९२४ वटा निक्षेप खाताको ६ खर्ब ६० अर्ब ६ करोडको निक्षेप सुरक्षण भएको छ।

कोषले प्राकृतिक व्यक्तिको बचत तथा मुद्धती खातामा रहेको ३ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण एवं बैंक तथा वित्तीय संस्थाबाट तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने पशुधन, विपन्न वर्ग, साना तथा मझौला उद्यम, र कृषि कर्जा आदीको सुरक्षण गर्दै आएको छ।

यसैगरि २०७६ पुससम्ममा कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व ३ खर्ब ६० अर्ब ७८ करोड र नागरिक लगानी कोषको १ खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यस्तै सञ्चयकर्ताको सञ्चय कोषमा सञ्चयकर्ताहरुको सञ्चित बचत ३ खर्ब २३ अर्ब ७५ करोड र नागरिक लगानी कोषमा १ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

यस्तै २०७६ फागुन मसान्तसम्ममा हुलाक बचत बैंकको लगानी कर्जा लगानी ३७ करोड ६५ लाख र ६२ हजार ५१७ वटा बचत खाताबाट १ अर्ब ४३ करोड ७२ लाख निक्षेप संकलन गरेको छ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १० : ३० बजे