साधनाको आईपीओ तीन लाख ८२ हजार आवेदकले नपाउने

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) मा उच्च आवेदक परेपछि ३ लाख ८२ हजार ४६० आवेदकको हाल खाली हुने भएको छ।

लघुवित्तले निष्काशनमा ल्याएको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ६६ हजार १५२ जना आवेदकलाई १० कित्ताका दरले मात्र बाँड्न पुग्ने भएकाले सो संख्याका आवेदकले शेयर नपाउने निश्चित भएको हो।

लघुवित्तको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओमा ४ लाख ५८ हजार ६४३ वटा आवेदन परेकोमा १० हजार ३१ वटा आवेदन रद्ध भएको छ। ४ लाख ४८ हजार ६१२ सदर आवेदन सदर भएको छ।

क्यापिटलका अनुसार सर्वसाधारणमा माग भएको कित्ताको तुलनामा १७.०२ गुणा बढीको आवेदन परेको छ। ६ लाख ६१ हजार ५२० कित्ताको मागमा १ करोड १२ लाख ५९ हजार ८५० कित्ता माग भएको हो।

कूल माग भएको कित्तामध्ये ३ लाख ४३ हजार ४८० कित्तको माग रद्द भएको छ।

साधना लघुवित्तको आईपीओमा परेको आवेदन हालसम्मकै उच्च हो। यसअघि ४ लाख बढी संख्यामा मात्र आवेदन पर्ने गरेकोमा यस लघुवित्तमा भने साढे ४ लाख नाघेको हो। लघुवित्तले असार २१ गते आइतबारदेखि २४ गते बुधबारसम्म कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

लघुवित्तमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूसम्मका लागि आवेदन गर्न पाइने व्यवस्था थियो। इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार जनाउने इक्रा आईपीओ ग्रेड ४ रेटिङ्ग पाएको उल्लेख छ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ।

प्रकाशित मिति: २५ असार २०७७, बिहीबार  १९ : ११ बजे