प्रभु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु, क्यापिटलमध्ये कै ठूलो बन्यो

0
Shares

प्रभु बैंक (Prvu) को सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिएर सोमबारदेखि संयुक्त कारोबार थालेका छन्।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु भएको हो। एकीकृत क्यापिटलको चुक्ता पूँजी ८० करोड रुपैयाँ नाघेको छ। यो नेपालका मर्चेन्ट बैंकर मध्ये कै ठूलो चुक्ता पूँजी हो।

एकीकृत कारोबारको उपलक्ष्यमा क्यापिटलले साउन मसान्तसम्म खाता खोल्ने ग्राहकहरुलाई तीन वर्षसम्म डिम्याट खाता र मेरो शेयर निशुल्क उपलब्ध गराउने जनाएको छ। क्यापिटलले प्रभु बैंकको शाखाहरुबाट पनि यो सुविधा पाइने उल्लेख गरेको छ।

गत पुसमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका कम्पनीले ७ महिनामा एकीकृत करोबार थालेका हुन्। मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिस्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जर प्रकृया अगाडि बढेको थियो।

प्रभु क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त कम्पनीको हो । त्यस्तै समृद्धि क्यापिटल लिमिटेड लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था थियो ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ छ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार  ११ : ५७ बजे