नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने बताएका छन्।
पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई एकिकृत कारोबारको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको उल्लेख गरे ।
प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ समारोहलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि ढुङ्गानाले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा बोर्डले यसतर्फ ध्यान दिइरहेको बताए। उनले विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको बताउँदै क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपि भानु शर्माले पूँजी बजार व्यक्ति मात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे ।
विशेष अतिथि प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए।
उनले कोभिड १९ को महामारीको कारण भएको आर्थिक मन्दिको वातावरणमा बोर्डको अध्यक्षमा ढुंगानाको कार्यकालमा नेपाली पूँजी बजारले नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको विश्वास व्यक्त गरे। यसअघि विषम परिस्थिति भोगेको पूँजी बजार अहिले स्थाई सरकार भएको हुँदा पनि थप परिस्कृत हुनसक्ने उनको भनाई थियो।
कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको अवस्थामा इतिहास रच्दै..अघि बढ्दै..प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए।
मर्जरले ठूलो आकारको पूँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै पूँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्य सहित मर्जर गरिएको थकालीले प्रष्ट पारे।
मर्जर पश्चात एकिकृत प्रभु क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१ करोड ७१ लाख पुगेको छ।
प्रतिक्रिया