नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २१२ कम्पनीमध्ये शीर्ष दश स्थानमा अटाएका कम्पनीको बजार पूँजीकरण कूल बजार पूँजीकरणको ३५ प्रतिशत हिस्सा रहेको पाइएको छ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २१२ कम्पनीको कूल बजार पूँजीकरण १८ खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख रहेकोमा शीर्ष कम्पनीको बजार पूँजीकरण ६ खर्ब ३८ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ रहेको छ। यो कूल बजारपूँजीकरणको ३४.८१ प्रतिशत हुन आउँछ।
नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बजार हिस्सा ७५ प्रतिशत कायम हुनु र शीर्ष दश कम्पनीमध्ये पनि अधिकांश वाणिज्य बैंकहरु पर्नुले नेपालको नेप्से सूचाङ्कको निर्धारण वाणिज्य बैंकको उपसमूहको सूचकसँग समानान्तर रुपमा अगाडि बढेको पाइन्छ।
गत साताको बजार पूँजीकरणका आधारमा शीर्ष दश कम्पनीमा ७ वटा वाणिज्य बैंक परेका छन्। यस्तै दुई बीमा कम्पनी र एक अन्य समूहको कम्पनी रहेको छ।
नेपाली शेयर बजारमा सूचीकृत कम्पनीमध्ये नेपाल टेलिकमको बजार पूँजीकरण सबैभन्दा धेरै रहेको छ। कम्पनी एक्लैको बजार पूँजीकरण ९७ अर्ब ९५ करोड माथि रहेको छ। जुन कूल बजार पूँजीकरणको ५.३४ प्रतिशत हुन आउँछ। यसैगरि दशौं ठूलो बजार पूँजीकरण रहेको नेपाल पुनर्बीमा कम्पनीके बजार पूँजीकरण ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो कूल बजार पूँजीकरणको २.८४ प्रतिशत हुन आउँछ।
यसरी ठूलो बजार पूँजीकरण भएका कम्पनीको शेयरमूल्यमा आउने उतार चढावका कारण नेप्से सूचक प्रभावित बन्दै आइरहेको छ। एकै समूहको बर्चश्व कायम हुँदा नेप्से सूचक समेत सोही अनुसार निर्धारण हुने गरेको छ। शेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्र्याउने चर्चा धेरे भएपनि सो अनुसारको काम देख्न पाइएको छ।
गत साता शेयर बजारमा ५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७ हजार कित्ता शेयर खरीद बिक्री भयो। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धैरै ५४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
गत साता दैनिक औसतमा १ अर्ब ७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो सातको तुलनामा कारोबार रकम ४.५८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया