कोरोना संक्रमणको जोखिम हेरेर सीडीओलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार प्रदान

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमको अवस्था विश्लेषण गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निषेधाज्ञा लगाउन सक्ने अधिकार मन्त्रीपरिषद्ले प्रदान गरेको छ।

सरकारका प्रवक्ता अर्थ एवं अर्थ, सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक गर्दै सो अधिकार दिएको जानकारी दिए।

उनले भने ‘रोकथाम नियन्त्रण र उपचारका लागि लागू हुने गरेर आवश्यक व्यवस्था मिलाउन स्थानीय प्रमुख जिल्ला अधिकारीलाई अधिकार सुम्पने निर्णय भएको छ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने भएका छन्। जिल्लाभर वा जिल्लाको कुनैपनि स्थानमा निषेधाज्ञा लगाउन सक्नेछन्।

त्यस्तै सरकारले जारी गरेका निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड लगायत संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी भएका निर्देशन प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ।

संक्रमणको जोखिम बढ्दै गएपछि विभिन्न जिल्लाहरुमा यसअघि नै संक्रामक रोग निवारण ऐन अन्तर्गत निषेधाज्ञा जारी भइसकेका छन्। यससँगै उपत्यकामा तीन जिल्लामा पनि निषेधाज्ञा लगाउन बाटो खुला भएको छ।

मंगलबार मात्रै उपत्यकामा २०५ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १० हजार ५६३ जना रहेको छ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार  १७ : ४६ बजे