नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ ।
उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपिएस तथा कनेक्ट आईपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ ।
त्यसैगरी आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।
एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।
एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आईपिएस, कनेक्ट आइपिएस इ पेमेन्ट, कनेक्ट आरटिजिएस, र एनपिआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । बैंक वित्तिय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पिएसपी/पिएसओहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
एनपिएस आइटी र फिन्टेक क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले विभिन्न भुक्तानीका सेवाहरु एकीकृत गरेर लगायत एपिआईमा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ । साथै यसले अन्तरबद्धता मार्फत बैंक वित्तीय तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु प्रदान गर्दै जानेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया