मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।
उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन ।
राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।
उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गरिने छ ।
उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र प्रविधि समेतका छन् । उज्वेक कानुन मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।
सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ । सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया