अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता


अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएका देखिएको छ ।

बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखिएको हो । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन् । र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।

गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मत सर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहेका छन् । विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ ।

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उहाँका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहीबार १६ : २६ बजे