कोरोना विरुद्ध लड्न नेपाल भारत सहकार्य आवश्यक: अर्थमन्त्री पौडेल


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विश्वब्यापी महामारी कोरोना भाइरस विरुद्ध लड्नका लागि नेपाल भारतविच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मंगलबार अर्थमन्त्री पौडेल र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भएको भेटबार्तामा कोरोना संग लड्न सहकार्य आवश्यक रहेको पौडेले बताएका हुन् ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीले भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि पनि धन्यवाद दिएका थिए । साथै, कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।

राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।

भारतद्वारा एक अर्ब अनुदान प्रदान

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ ।
आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।