विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार

0
Shares

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबारबाट प्राधिकरणमा कार्यभार सम्हालेका छन् ।

प्राधिकरणका सिनियर उपकार्यकारी निर्देशक शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो। आइतबार पत्र पाएपछि शाक्यले सोमाबारदेखि कार्यभार सम्हालेका हुन् ।

उनी ३ वर्ष अघिदेखि प्राधिकरण स्वामित्वको एनइए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए। गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सो स्थानबाट काज फिर्ता गरी शाक्यलाई प्राधिकरणमा मुख्य जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी गत भदौ २९ गते बाहिरिएपछि सरकारले रिक्त पदमा अर्थ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको थियो ।
प्रसारण लाइन निर्माणका क्षेत्रमा अनुभवी शाक्य प्राधिकरणका उपकार्यकारी निर्देशकहरूमध्ये उनी सबैभन्दा सिनियर र अब्बल इन्जिनियर हुन् ।

  • कुलमानको सम्भावना टर्यो

सरकारले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेपछि अब अन्य व्यक्ति प्राधिकरणको मुख्य जिम्मेवारीमा आउने बाटो बन्द जस्तै भएको छ । रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ ।

शाक्यलाई निमित्त कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समेत सम्भावना टरेको छ ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि घिसिङलाई नै पुनः नियुक्ति गर्नुपर्ने दबाब बढेपछि सरकारले तत्काल कार्यकारी निर्देशक नियुक्त नगरी अर्थ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी बनाएको थियो।

अहिले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेपनि सरकारले शाक्यलाई नै पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी दिने लक्ष्यका साथ उनलाई निमित्तको जिम्मेवारी दिएको हो ।

निवर्तमान निर्देशक घिसिङको कार्यकाल समाप्त भएपछि विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, हितेन्द्रदेव शाक्य, प्राधिकरणका पूर्व सञ्चालक कृष्णप्रसाद दुलाल, नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, र पुनः घिसिङको चर्चा थियो । जसमध्ये शाक्य र सिंहको बलियो दाबेदारी रहेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  १४ : २० बजे