गण्डकी प्रदेशका व्यवसायीको समर्थन पाएका ढकाल भन्छन् – तपाईहरुको विश्वासलाई ठेस पुर्याउने छैन

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिए ।

महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे ।

‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वमा रहेका व्यक्तिहरुले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’

साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाइ थियो ।

अहिले व्यवसायीक नेतृत्वको लविङ नपुग्दा व्यवसायीमैत्री नीति नियमहरु आउन नसकेको बताउँदै उनले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसायमैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताए।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए।

‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

साथै कोभिडका कारण जिल्ला नगरका कतिपय व्यवसायीले आत्महत्या गर्न बाध्य भएको र धेरैजसो उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए ।

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए ।

‘यस अघि नेतृत्वमा रहेका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नुभयो त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्ने बचनबद्धता व्यक्तगर्दै उनले भने, ‘सबै जिल्लामा आफ्नो व्यापार व्यवसाय चन्द्रप्रसाद ढकाल र सबैलाई समेटेर अघि बढ्नेछ ।’

कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफुले पनि समर्थन गर्दै अघि बढेको बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  १६ : ३६ बजे