ढल्केबर सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने


निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको संmत्रम्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो ।

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदान प्रदानका लागि मार्ग प्रशस्त भएको छ । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत्समेत सोही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।

उक्त सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कूल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा उक्त सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदान प्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ ।

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत मार्ग प्रशस्त भएको छ ।

सो सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

गत वैशाख अन्तिम साता नै सो सबस्टेशन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पु¥याउन सकिएको थिएन । पूर्वकार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि असाध्यै ठूलो महत्वपूर्ण उपलब्ध भएको बताए । विसं २०७५ सालदेखि निर्माण शुरु भएको सो सबस्टेशन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उनले निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए ।