बरुण हाइड्रोपावरको नाफामा सुधार

0
Shares

बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अन्य कम्पनीहरुको चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भैसक्दा कम्पनीले भने बल्ल गत आवको अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनी २३ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा थियो । बिद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो ।

असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ५० लाख रुपैयाँ कमाएको छ। गत आवको यसै अवधिको तुलनामा कम्पनीले ८.५७ प्रतिशतले विद्युत बिक्री आय बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले विद्युत बेचेर ७ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।

चुक्ता पूँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६.३६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६.३३६ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा १ करोड ६२ लाख २२ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ९८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।